मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध चरेससहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको थाहा नगरपालिका–३, शिखरकोटबाट ६ केजी चरेससहित भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय पालुङले मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीवाट हेटौंडातर्फ आउँदै गरेको यात्रुवाहक बसमा सुरक्षा जाँच गर्ने क्रममा चरेस फेला पारेको हो । सुरक्षा जाँचका क्रममा सिंह र चौधरीले तिघ्रामा बाँधेर ल्याएको १२ वटा प्लास्टिकको पोकामा प्याक गरेको चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लाे आर्थिक वर्षमा लागुऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २५० जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ९६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम, ७८ ग्राम खैरो हिरोइन र १०५ केजी चरेस बरामद गरेको जनाएको छ ।