गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्दा ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । बुधबार सहकारी विभागले एक निर्देशन जारी गर्दै उक्त निर्देशन दिएको हो ।

यसरी कर्जा पुनर्तालिकीकरण गर्दा यसअघि यस्तो सुविधा नलिएका ऋणीको मात्रै उक्त सुविधा पाउने विभागले जनाएको छ । ‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यता समेतको आधारमा कर्जा पुनर्तालिकीकरण गर्न सकिनेछ,’ निर्देशनमा छ, ‘यसरी पुनर्तालिकीकरण गर्दा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघी यस्तो सुविधा नलिएका ऋणीको हकमा मात्र कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ ।’ यसरी कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्ने विभागको निर्देशन छ ।