हेटौंडा । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा आज हेटौंडा–४, स्थित भुटनदेवी माविको प्रङ्गणबाट सुरु भएको प्रभातफेरी सिमा चोक, फरेस्ट्री गेट हुँदै हेटौंडा–४ स्थित पशुपति मन्दिरको सभाहलमा पुगेर टुंगिएको थियो । र्यालीमा सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा लागुऔषधविरुद्ध क्रियाशील संघ÷संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा लागु औषधदुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रमको समापन प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको सभाध्यक्षता एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । हरेक वर्ष जुन २६ मा संसारभर अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारविरुद्धको दिवस मनाइन्छ । पछिल्लो समय नेपाल लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको र दुर्व्यसनीको संख्यासमेत बढ्दै गएको भन्दै लागुऔषधविरुद्धका अभियन्ताहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।