मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा सोमबार सम्पन्न ११ औं गाउँसभामा उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिएको छ । पालिकाले नीति तथा कार्यक्रममा रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने भएको छ । यस्तै संघीय सरकारले ५ कक्षासम्म सञ्चालन गरेको विद्यालयमा खाजा कार्यक्रमलाई विस्तार गरेर ८ कक्षासम्म पुर्याउने भएको छ ।
त्यसैगरी, पालिकाले अनौपचारिक क्षेत्रका १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रस्ताव गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा पनि १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको छ । गाउँ सभामा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन र आगामी आवको आर्थिक विधेयक प्रस्तुत गर्नुभएको थियो ।
हेर्नुहोस् नीति कार्यक्रमको पूर्णपाठ









