मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामीले आर्थिक वर्ष २०८१÷०८२ को लागि ९० करोड १३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा ३ करोड रुपैयाँ कम बजेट ल्याएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि आय तर्फ आन्तरिक आय स्रोत तथा बैंक नगद अल्यावाट ३० करोड २७ लाख ९४ हजार ७ सय ९९, संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजश्व वाँडफाड, समपुरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर बाँडफाड, सशर्त, समपुरक र विशेष गरी ६ करोड २८ लाख १० हजार ४ सय र १८ करोड ०७ लाख ५२ हजार ८ सय १ रुपैया संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, बन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै व्यय तर्फ संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समपुरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख र प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार ९९ रुपैयाँ विषयगत कार्यक्रम क्रियाकलाप तर्फ ३० करोड ७३ लाख ४७ हजार, वडा स्तरीय योजना तर्फ ९ करोड ४० लाख र गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजना समेतमा ३३ करोड ३६ लाख ४३ हजार ९ सय १ रुपैया व्यय अनुमान गरिएको छ ।