मकवानपुर । डिभिजन वन कार्यालय मनहरीले बहुउपयोगी चिउरीको संरक्षणमा चासो दिएको छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका पाहाडी क्षेत्रमा पाईने वनस्पती चिउरीको संरक्षण गर्ने र चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को कार्यालयले गरेको हो ।
राक्सिराङ र कैलाश क्षेत्रमा चिउरी रैथाने वनस्पति हो । चिउरी वृक्षलाई याहाँका आदिवासी चेपाङले आफ्नो संस्कृतिसँग जोडेका छन् । चेपाङ समुदायमा छोरीको विवाह गर्दा चिउरीको बिरुवा दाइजो दिने संस्कृति समेत छ । केहि वर्ष अघिसम्म यस क्षेत्रमा प्रसस्त पाईने चिउरी अहिले लोप हुने अवस्थामा पुगेको छ । त्यसैले संस्कृतिको समेत संरक्षण गर्ने र चिउरीबाट व्यावसायिक लाभ लिने उदेश्यका साथ काम सुरु गरेको डिभिजन वन कार्यालय मनहरीका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
कार्यालयले अहिले चिउरीको ग्राफ्टिंग सुरु गरेको उहाँले बताउनुभयो । “ पुष्प बिकाश केन्द्र गोदावरीका प्राविधिक सुधिर श्रेष्ठलगायतको टोलीको प्राविधिक सहयोगमा कार्यालयको नर्सरीमा चिउरीको ग्राफ्टिङ नयाँ प्रयोग सुरुवात गरेका छौ ।” उहाँले भन्नुभयो । नर्सरीमा उत्पादन भएका बिरुवा राक्सिराङ गाउँपालिका वडा नम्बर ६, ७, ८ र ९ लगाउने उहाँले बताउनुभयो । “नर्सरीमा उत्पादित चिउरीको ग्राफ्टिङ बिरुवा उक्त क्षेत्रमा लगाउने र सो क्षेत्रलाई चिउरीको पकेट क्षेत्रको रुपमा बिकाश गर्ने अभियानमा छौ ।” आचार्यले भन्नुभयो ।
अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी चिउरीको रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ । घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षरोपण नगर्दा चिउरी बिरुवा कम हुँदै आएको उहाँले बताउनुभयो । मौरीको मुख्य आहाराको रुपमा रहेको चिउरीको फूल रुख कटानसँगै लोप हुँदै गएको छ । केहि वर्षअघि जताततै पाइने चिउरीका रुख अहिले कम हुँदै गएको बताउनुहुँदै उहाँले चिउरी संरक्षण गरी मह उत्पादन बढाउनुका साथै चिउरी घ्यू उत्पादन बढाउन कार्यालयले पहल गरेको बताउनुभयो ।
भदौ–असोजमा पात झरेर वसन्तमा पालुवा फेर्दै लटरम्म फुल्नेफल्ने चिउरीबाट अहिले वाइन, जुस, साबुन, घीउ, क्रिम, जाम र महदेखि प्राङ्गारिक मल तथा विषादीसम्मको उत्पादन शुरु भए पनि संरक्षण नहुँदा लोप भएको अवस्था छ । चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ । वर्षौदेखि जङ्गलमा झर्दै, खेर जाँदै गरेको चिउरीको बिजुला बटुलेर धेरैले राम्रो आम्दानी गर्ने गदैथे । तर, पछिल्लो समय वनस्पती नै मासिने अवस्थामा पुगेको हुँदा मौरीको आहारा र घ्यू उत्पादनमा समेत कमी आएको आचार्यले बताउनुभयो ।
ग्राफ्टिङ चिउरी बिरुवाले २–३ बर्ष भित्र उत्पादन दिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । चिउरीबाट मौनवत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ । चिउरीको पाटबाट टपरी, घाँस, घीउ निकाल्दा बाँकी रहेको पिना अत्यन्तै उपयोगी रुपमा प्रयोग गर्न सकिन्छ । चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको हुँदा चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को गरिएको आचार्यको भनाई छ । चिउरी बहुउपयोगी बिरुवा भएकाले यसको संरक्षणका लागि अभियन संचालन गरिएको समेत उहाँले बताउनुभयो ।