मकवानपुर । मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको हेटौंडा उपमहानगरपालिका बाहेक ९ वटा स्थानीय तहमा आजबाट टोली खटाई बिशेष शिविर सञ्चालन गरेको हो ।
जिल्लाको थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, बाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षाभत्ता बुझ्नेहरुको राष्ट्रिय परिचयपत्र भने प्रशासन कार्यालयमा नै बन्ने चिलुवालले जानकारी दिनुभयो । असार २२ गतेसम्म सञ्चालन हुने शिविरको आज राक्सिराङ गाउँपालिकाबाट प्रारम्भ भएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष ज्येष्ठ नागरिक र अपाङ्ता भएकालाई मात्र सेवा प्रदान गरिने समेत उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । ९ वटा पालिकाको केन्द्रमा दुईवटा टोली बनाएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु गरिएको उहाँले बताउनुयो । जसअनुसार बुधबार राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा टोली पठाईएको छ । एउटा पालिकामा टोली चार दिनसम्म बसेर राष्ट्रिय परिचयपत्र बनाउने काम गर्ने र त्यही टोली अर्को पालिकामा खटिने व्यवस्था मिलाएको प्रजिअ चिलुवालले बताउनुभयो ।
जसअनुसार पहिलो टोलीले आजदेखि असार असार १ गतेसम्म राक्सिराङ गाउँपालिकामा, असार ३, ४, ५ र ६ गते कैलाश गाउँपालिकामा, असार ८, ९, १०, ११, १२ र १३ गते थाहा नगरपालिकामा र असार १५, १६, १७ र १८ गते इन्द्रसरोबर गाउँपालिकामा दर्ता शिविर सञ्चालन गर्ने प्रजिअ चिलुवालले जानकारी दिनुभयो ।
यस्तै दोस्रो टोलीले बिहीबारदेखि बागमती गाउँपालिकाबाट काम सुरु गर्ने छ । दोस्रो टोलीले बागमती गाउँपालिकामा जेठ ३१, ३२ र असार १ र २ गते, बकैया गाउँपालिकामा असार ४, ५, ६ र ७ गते, मकवानपुरगढी गाउँपालिकामा असार ९, १०, ११ र १२ गते, भीमफेदी गाउँपालिकामा असार १४, १५, १६ र १७ गते र मनहरी गाउँपालिकामा असार १९, २०, २१ र २२ गते राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन गर्नेछ ।