मकवानपुर । नेकपा एमाले मकवानपुरको १२औं जिल्ला अधिवेशनबाट आगामी नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । जेठ १८ गतेबाट सुरु भएको १२औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि मतदान गरिएको हो ।
तीन वर्षे कार्यकालका लागि भएको निर्वाचन कार्यक्रममा ७६५ जना प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार कुल ७७७ प्रतिनिधि मध्ये १२ जना अनुपस्थित रहेका छन् । मतगणना भोली बिहान ७ः०० बजेदेखि भुवनेश्वर मन्दिरको सभाहलमा सुरू गरिने बताईएको छ ।
आगामी नेतृत्वका लागि अध्यक्ष पदमा इन्द्रमान स्याङ्तान, लालबहादुर थापा, श्रीधर पोखरेल र देवराज रिमाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै उपाध्यक्ष पदमा सुनिल मोक्तान, हिदम लामा, ध्रुव चौलागाई र भरत दुलालले मनोनयन दर्ता गराउनु भएको छ ।
यस्तै सचिवमा मदनकुमार दाहाल, सीता विष्ट र राजन थापा, उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दिपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज जर्घा मगर, उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ । पाँच जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो ।