भारतीय सर्वोच्च अदालतले अनलाइन समाचार पोर्टल ‘न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न आदेश दिएको छ ।
दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै आज सर्वोच्च अदालतले पुरकायस्थलाई रिहा गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशहरू बीआर गवई र सन्दीप मेहताको संयुक्त इजलासले पक्राउ गर्ने बेलामा प्रहरीले कुनै आधार नबताएका उल्लेख गरेको छ ।
पुरकायस्थलाई गएको अक्टोबरमा चीनबाट अवैध सहयोग लिएको आरोपमा यूएपीए कानुनअन्तर्गत भन्दै प्रहरीले पक्राउ गरेको थियो । पुरकायस्थले आफ्नो पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
पुरकायस्थसहित न्युजक्लिकका प्रशासनिक प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीको स्पेसल सेलले पक्राउ गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको एक समाचारका आधारमा चीनबाट अवैध रूपमा सहयोग लिएको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । न्युयोर्क टाइम्सले चीन सरकारले प्रोपोगान्डा फैलाउन न्युजक्लिक अनलाइन पोर्टललाई पैसा दिएको दाबी गरेको थियो ।