सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजाे मङ्गलवार सर्वोच्चमा दायर गर्नुभएको रिटमाथि आज बुधवार सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले अधिकारीलाई मुख्यमन्त्री नियुक्तिसम्बन्धी कागजातसमेत सक्कलै फाइन पेस गर्न भनेको छ । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत आउँदो वैशाख ७ गते दिउँसाे ३ बजेसम्म लिखित जवाफ पेस गर्न समय दिएको छ । यससँगै यस मुद्दालाई पूर्ण इजलासमा सुनुवाइ गर्न पनि आदेश भएको छ । सर्वोच्चले अग्राधिकार दिएको मुद्दाको सुनुवाइका लागि आउँदो वैशाख १० गते पेसी तोक्न भनिएको छ ।