
हेटाैंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० आजबाट सुरु भएको छ । चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा सुरु प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच उद्घाटन र्गनुभयो ।
आइतबार उद्घाटन कार्यक्रममा बैकुण्ठ मानन्धरसहितका चार जना ओलम्पियनहरूले ओलम्पिक टर्च बाल्नु भएको थियो । प्रतियोगितामा ९ वटा विधामा १ सय ३६ वटा स्वर्ण पदकका लागि ७ प्रदेशका करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेलहरु सञ्चालन हुनेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय स्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न अन्तर प्रदेश खेलकुद महत्वपूर्ण हुने बताउनुभयो । उहाँले निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई सम्पन्न गर्न आवश्यक स्रोतको सुनिश्चितता आगामी वर्षको बजेटमार्फत गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले खेलाडी सन्तुष्ट बनाउन र उनीहरूको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले विभिन्न प्रयासहरू गरिरहेको बताउनुभयो । उहाँले भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५२ करोड रूपैयाँ बजेटको सुनिश्चितता गरेको र अन्य खेलकुदका संरचना निर्माणका लागि पनि काम गरिरहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारले साझेदारीमा संरचनाहरू निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले क्रिकेट रंगशाला निर्माणका लागि संघीय सरकारको सहयोग माग्नुभयो ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशमा खेलाडीहरूको विकास गर्न, राष्ट्रिय एकता बलियो बनाउन र देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलकुद गतिविधि बढाउनु आवश्यक रहेको बताउनुभयो । वैशाख १ गतेसम्म हुने खेलकुदमा ५ हजार जनाभन्दा बढी खेलकर्मीहरू सहभागी हुने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
