हेटौंडा । मकवानपुर क्षेत्र नम्बर एकका नेकपा एमालेका उम्मेद्बार राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभावलाइ रोक्न राष्ट्रवादी सरकार बन्नु पर्ने बताउनुभएको छ । देशी बिदेशी शक्तिहरुलाई रोक्न एमालेको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपा एमाले हेटौंडा १२ को निर्वाचन परिचालन कमिटीद्वारा आयोजित बिस्तारीत बैठकलाई सम्बोधन गर्दै रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभयाे ।
मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा उभिनुको बिकल्प नरहेको भनाई राख्नुभयो । मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले देशमा भैरहेका गलत क्रियाकलाप रोक्न एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राख्नुभयो । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा एमाले सङ्गको सहकार्यमा जनताको सेवा गर्ने प्रष्ट पार्नुभयो । जिल्लामा सुरु भएका धेरै कामहरु पूरा गर्न बाकी रहेकोले यसलाई सम्पन्न गर्न सबै सुर्यध्वजाबाहक उम्मेद्बार जित्नु अनिवार्य रहेकोमा थापाले जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस नेतृत्वमा भएको गठबन्धन निहित स्वार्थका लागि मात्र भएको उहाँको भनाई छ । देशको लागि नभई पार्टी र सत्ताको स्वार्थका रुपामा गठबन्धन अगाडि बढेकोले यसलाई परास्त गर्न जनता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । १२ वडा कमिटीका निर्वाचन परिचालन कमिटीका संयोजक अर्जुन अर्यालको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य रामचन्द्र अर्याल, जिल्ला अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठ, एमाले सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, जिल्ला सदस्य कृष्ण नगरकोटी, रुक्मिणी गोङ्वा, राष्ट्रिय युवा सङ्घ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष राजेश नगरकोटीलगायतको सहभागिता रहेको थियो ।