मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । हाम्रो नेपाली पाटीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई आजै मन्त्रीमा नियुक्त गरेर शपथग्रहणको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय श्रोतले जनाएको छ ।

बागमती प्रदेशमा नयाँ गठवन्धनको सरकार गठनका लागि बहुमत पुर्याउन एक सांसद अपुग भइरहेको समयमा हाम्रो नेपाली पार्टीका सांसद बर्जाचार्यलाई मन्त्री बनाउन लागिएको हो । बज्राचार्यलाई प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेर आजै सपथग्रहण गराउन लागिएको बुझिएकाे छ । बर्जाचार्यलाई साँझ ६ बजे मन्त्री नियुक्त गर्दै सपथग्रहणको तयारी भएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो ।

काठमाण्डौंबाट हेटौंडा आउने भएकाले आज सपथ्रग्रहण केही ढिलो भएको र आजै मन्त्रीमा नियुक्त भएर पदभार पनि ग्रहण गर्ने कार्यतालिका रहेको छ । मन्त्रीमा नियुक्त गर्ने गरि मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालय तयारी अवस्थामा रहेको बुझिएको छ । बर्जाचार्य काठमान्डौंबाट हिडिसक्नु भएको र आउने बित्तिकै सपथग्रहण गर्ने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्‍याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए । अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन् । हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद पुग्नेछ ।