आज देशका तीन प्रदेशमा दिनभरजसो पानी पर्ने सम्भावना रहेकाे माैसमविदले जनाएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाण्डौ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको छ ।
पश्चिमका केही ठाउँमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो । अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भैरहेको हो ।