मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले बिहीबार (आज) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने बिद्यार्थीहरुलाई खाद्यन्न सहयोग गरेको छ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट परीक्षामा सहभागी हुन परीक्षा केन्द्र झरेका बिद्यार्थीहरुलाई गाउँपालिकाकाले खाद्यन्न सहयोग गरेको हो ।

मकवानपुर जिल्लाको बिकट मानिने राक्सिराङ गाउँपालिकामा यो वर्ष पहिलो पटक केन्द्र निर्धारण गरेर परिक्षा सञ्चालन हुँदैछ । यसअघिका वर्षहरुमा राक्सिराङ गाउँपालिकाका विद्यार्थीहरुले मनहरी गाउँपालिकामा रहेको रोटरी मावि र महेन्द्र मावि परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएकोमा यस वर्षबाट राक्सिराङ–५ स्थित प्रजा जागृति मावि र राक्सिराङ–३ स्थित सूर्योदय माविको परीक्षा केन्द्रबाट परीक्षा दिने भएका हुन् ।

परीक्षामा सहभागी हुन डेरा गरी बस्ने विद्यार्थीलाई पालिकाले अति आवस्यक खाद्यान्न सहयोग गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । पालिकाको धिराङ, गर्लिङ, सिलिङ्गे, खैराङलगायत विकट गाउँबाट एसईई दिनका लागी गाउँपालिका केन्द्र चैनपुर र ३ नम्बर वडास्थित सरिखेत झरेका विद्यार्थीलाई आर्थिक अभावका कारण खाद्यान्न जुटाउन समस्या भएकाले गाउँपालिकाले सयोग गरेको अध्यक्ष मल्लको भनाई छ । खानेकुराकै समस्याका कारण विद्यार्थी एसईई परीक्षामा सहभागी नहोलान् भन्ने चिन्ताले परीक्षा अवधिभरका लागी आवस्यक खाधन्न जुटाइदिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।

यसवर्ष राक्सिराङ गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयबाट २८१ जना विद्यार्थी एसईई परीक्षामा सहभागीता जनाउने जानकारी दिँदै परीक्षा केन्द्र नजिक घर भएका बाहेकका २०३ जना विद्यार्थीलाई मात्रै खाधन्न सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । २०३ जना विद्यार्थीलाई प्रति विद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

यस वर्षको एसईई परीक्षाको लागि मकवानपुरमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका ९ स्थानीय तहका १२६ विद्यालयका २६ वटा परीक्षा केन्द्रबाट ६ हजार १७१ विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । यस्तै खुलातर्फ ८४ जना र भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।