यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर दुईं हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डौमा १२७ वटा परीक्षा केन्द्र छन् । यसवर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै यस वर्षको एसईई परीक्षाको लागि मकवानपुरमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका ९ स्थानीय तहका २६ वटा परीक्षा केन्द्रमा १२६ विद्यालयका ६ हजार १७१ विद्यार्थी एसईईमा सहभागी हुनेछन् । यो संख्या गत वर्षको परीक्षार्थीभन्दा एक सय ७१ बढी हो । खुलातर्फ ८४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयाे । गौतमका अनुसार भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षामा सहभागि हुँदैछन ।