मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शुक्रबार हेटौंडा आउनुहुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिक साधारणसभाको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड हेटौंडा आउन लाग्नुभएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिक साधारणसभा भोलि र पर्सि बागमती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आयोजक निर्माण व्यवसायी महासंघले साधारणसभाको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउनु हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महासघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी संघ मकवानपुरको सहआयोजनामा साधारणसभा हुन लागेको जानकारी दिनुभयो । उहाँले साधारणसभाको प्रधानमन्त्री प्रचण्डबाट समुद्घाटन हुने तथा उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, सहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललगायतको उपस्थिती रहने जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन सत्रमा निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको “निर्माण विशेषाङ्क” स्मारिकाको विमोचन, निर्माण उद्योगको विकास विस्तारमा महत्वपूर्ण योगदान दिने अग्रज निर्माण व्यवसायीहरूलाई गर्नुका साथै बन्द सत्रमा महासंघका महासचिव र कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन पेश गर्नुहने बताउनुभयो ।
उहाँले २५औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण साबित हुने विश्वास लिएको भन्दै निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा धनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिबद्ध गर्दै घोषणा पत्र समेत जारी गरिने बताउनुभयो । उहाँले साधारण सभामा देशभरबाट करीय ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुनुहुने बताउनुभयो ।