नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कुल आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ ।
ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।
यही फागुन २९ गते अपराह्न बोलकबोल हुनेछ। ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ । ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।