एकाएक संघीय सत्तासमीकरणमा फेरबदल भएसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनका लागि अंकगणितीय हिसाब सुरु भएको छ । केन्द्रमा कांग्रेससँगको सत्तासमीकरणलाई परिवर्तन गर्दै एमाले र रास्वपासँग सरकार बनाउने माओवादी केन्द्रको कदमको प्रभाव बागमतीमा पनि देखिएको हो ।
बागमतीमा आजभोलि नै सरकार परिवर्तन भइहाल्ने अवस्था भने नरहेको मुख्यमन्त्री एवं माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए । उनले केन्द्रमा भएको सत्तासमीकरणको प्रभाव प्रदेशमा पनि पर्ने, तर तत्काल सरकारमा फेरबदल नहुने दाबी गरे ।
बागमती प्रदेशमा नयाँ समीकरणअनुसार अंकगणितीय हिसाबले सरकार गठन गर्न समस्या हुनेसमेत जम्कट्टेलले बताए । यहाँ कांग्रेसलाई र एकीकृत समाजवादीलाई बाहिर राखेर सरकार गठन सम्भव नभएको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।
अहिले बागमतीमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा माओवादी केन्द्र नेतृत्वको सरकार छ । शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत माओवादीका तीन, कांग्रेसका ६ र एकीकृत समाजवादीका दुई मन्त्री छन् ।
एक सय १० सांसद रहेको बागमती प्रदेशमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । प्रदेशमा सरकार बनाउन आवश्यक ५६ सांसद कुनै पनि दलसँग नरहेकाले संयुक्त सरकारको विकल्प छैन । तर, सत्ताबाहिर रहने सम्भावना रहेको सबैभन्दा ठूलो दल कांग्रेस एक्लैसँग ३७ जना सांसद छन् भने सरकारमा नजाने भनिएको राप्रपासँग १३ सांसद छन् ।
यसैगरी, अहिले बनेको केन्द्रीय समीकरणअनुसार सत्ताबाहिर पुगेको एकीकृत समाजवादीको पनि यहाँ सात सांसद छन् । मुख्यमन्त्री जम्कट्टेलकै भनाइअनुसार पछिल्लो समीकरणअनुसार वर्तमान परिस्थितिमा कांग्रेसबाहेकका दलले प्रदेशमा सजिलै सरकार बन्ने अवस्था छैन ।
अबको परिस्थितिमा बागमती प्रदेश सरकारबाट कांग्रेस र एकीकृत समाजवादी बाहिरिँदा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार संकटमा पर्नेछ । उनलाई एमालेले मात्रै साथ दिँदा सरकार टिक्दैन । अहिलेकै समीकरणअनुसार जम्कट्टेल नेतृत्वको सरकारलाई टिकाउन राप्रपा वा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सामेल गर्नुपर्ने हुन्छ । तर, तत्काल राप्रपा सरकारमा जाने अवस्था देखिँदैन ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा वर्तमान सत्ता चलखेलमा नरहेको बताइसकेका छन् । यस्तै, अहिले बनेको केन्द्रीय समीकरणमा एकीकृत समाजवादी जाने वा नजाने भन्ने निर्क्याेल भइसकेको छैन ।
कांग्रेस पर्ख र हेरको अवस्थामा
प्रदेशमा सत्तासाझेदार दल कांग्रेसले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको जनाएको छ । कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता एवं प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले सत्तासमीकरणका विषयमा तत्काले कुनै प्रतिक्रिया दिइहाल्ने अवस्था नरहेको बताए । प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले परिस्थितिअनुसार कदम चाल्ने उनको भनाइ छ ।
‘बागमतीमा हामी ठूलो दल हौँ। तत्काल केही भनिहाल्ने वा गरिहाल्ने अवस्था छैन । केन्द्र र बागमतीको गणितीय परिस्थिति भिन्न रहेको र राजनीतिमा सम्भावना र विकल्पहरू पर्याप्त हुने भएकाले केही भन्न सक्ने अवस्था छैन,’ उनले भने ।
सत्ताप्राप्ति हाम्रो चासो होइन : राप्रपा नेता थापा
बागमती प्रदेशमा निर्णयक मत रहेको राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ताप्राप्ति आफूहरूको चासोको विषय नभएकाले यो खेलमा नलाग्ने बताए । उनले सरकार परिवर्तनमा खासै चासो नरहेको दाबी गर्दै राम्रोसँग ६ महिना पनि टिक्न नसक्ने सरकार र गठबन्धनमा सामेल नहुने स्पष्ट पारे ।
‘विगतमा जे भयो–भयो । अब राप्रपा सरकारमा जाँदैन । तत्काल सत्ताप्राप्ति हाम्रो चासो र चिन्ताको विषय होइन,’ उनले भने, ‘६ महिना पनि राम्रोसँग नटिक्ने सरकार र गठबन्धनमा राप्रपा सहभागी हुँदैन । हामीलाई जनताले प्रतिपक्षमा बस्न भनेका छन्, हामी त्यही गर्छौँ।’
केन्द्रीय समीकरणअनुसार सरकार परिवर्तन सम्भव : एमाले
हाल बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको एमालेले केन्द्रमा बनेको नयाँ सत्तासमीकरणअनुसार नै बागमती प्रदेशमा पनि नयाँ समीकरण हुन सक्ने प्रतिक्रिया दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले केन्द्रीय समझदारीअनुसार प्रदेशमा पनि सरकारको समीकरण परिवर्तन भए आश्चार्य मान्नु नपर्ने बताए ।
उनले यो एउटा स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे । तर, गणितीय सम्भावनालाई पनि हेर्नुपर्ने उनको भनाइ छ। ‘केन्द्रकै समीकरणअनुसार प्रदेश सरकार बनाउने सम्भावना छ । बागमती प्रदेशमा गणितीय हिसाबले तत्काल समीकरण परिवर्तन भइनहाले पनि गणितीय सम्भावनाको लेखाजोखा हुन्छ, उनले भने, ‘केही समय लाग्ला, तर केन्द्रीय समीकरणलाई प्रदेशमा पनि लागू गर्नु अनौठो होइन ।’
प्रमुख सचेतक पौडेलले केन्द्रमा जस्तो बागमती प्रदेशमा सरकारको समीकरण परिवर्तनको सजिलो सम्भावना भने नरहेको स्वीकार गरे । उनले प्रदेशमा संख्यात्मक रूपमा केन्द्रीय समीकरणअनुसार अघि बढ्ने विषयमा जटिल भए पनि राप्रपा वा समाजवादीलाई समेटेर जाने विषयमा छलफल गर्न सकिने बताए । नयाँपत्रिका