कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आज मौजुदा मन्त्रीपरिषद्मा चार मन्त्री तथा दुई राज्य मन्त्रीसहित ६ जना मन्त्री थप गर्नुभएको हो ।
प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालय, राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालय, रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्रालय तथा नारायण बहादुर मगरलाई खानेपानी तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै सुनिताकुमार गुरुङलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री तथा इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
आज साँझ आयोजित शपथ ग्रहण कार्यक्रममा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीहरू थापा र गुरुङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । समारोहमा प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सभाका सदस्यहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, मन्त्रालयका सचिवहरू, कर्मचारीहरू विभिन्न राजनैतिक दलका कार्यकर्ताहरू उपस्थिति रहेको थियो ।