मकवानपुर । हेटौंडामा जारि छैटौं संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि एपीएफ क्लब र एनआरटी बीच प्रतिष्पर्धा हुँदैछ । उपाधिकालागि हेटौंडा–६, स्थित गौरीटार रंगशालामा भोलि दिउँसो २ बजे यी दुवै टोली आमने सामने हुने भएका हुन् ।

भोली हुने फाईनल खेलमा दुवै टोलीले उपाधि हात पार्ने दावि गरेका छन् । आयोजक जिल्ला फुटबल संघ मकवानपुरले गरेको प्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधी हात पार्ने दाबी गरेका हुन् । प्रि–म्याच कन्फ्रेन्समा एपिएफ र एनआरटीका प्रशिक्षकले पहिलो पटक मकवानपुर गोल्डकपमा टोलीको नाम लेखाउन तत्पर रहेको प्रतिकृया दिनुभएको छ ।
प्रि–म्याच कन्फ्रेन्समा एनआरटीका प्रशिक्षक जीवन सिकेंमानले एक खेलमा ३–० को स्पष्ट जित र दुई खेलमा टाईब्रेकरमा विजयी हुँदै फाइनल आइपुगे पछि खेलाडीप्रति विश्वास गर्दै उपाधि जित्नेमा आशावादी रहेको प्रतिकृया दिनुभयो । भने, एनआरटीलाई फाइनलमा रोक्न टोलीले भरपुर प्रयास गर्ने एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले बताउनुभयो । उहाँले एपिएफ राम्रो लयमा रहेकोले उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।
जारी प्रतियोगितामा एनआरटीले प्रि–क्वाटरफाइनलमा हिमालयन शेर्पालाई ३–०, क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४–३ र सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई सडन डेथमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । यस्तै एपिएफले प्रि–क्वाटरफाइनलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३, क्वाटरफाइनलमा थ्री स्टार क्लब ४–० र सेमिफाइनलमा बागमती क्लब सर्लाहीलाई ४–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो । भोली हुने फाईनल खेलमा दुई मध्ये जसले जितेपनि मकवानपुर गोल्डकपमा पहिलो पटक च्याम्पियन बन्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरले २०६२÷६३ को जनआन्दोलनका शहिदहरुको स्मृतिमा २०६४ मा आयोजित गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि १३ वर्षसम्म प्रतियोगिता हुन सकेन । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहले निरन्तर सहयोग गर्ने भएपछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह सहिद स्मृति गोल्डकप’ नामकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । २०७७ सालमा भएको तेस्रो संस्करण र त्यसपछिको चौथो संस्करणको उपाधि नेपाल आर्मीले जितेको थियो । पाँचौं संस्करणको उपाधि मनाङ मर्याङ्दीले जितेको थियो । गोल्डकपको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । भने, सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।