मकवानपुर । आयोजक मकवानपुर–११ लाई टाइब्रेकरमा पराजित गर्दै बागमती युवा क्लब सर्लाही छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–६ स्थित गौरीटार वहुउदेश्य रंगशालामा आज भएको खेलमा बागमतीले मकवानपुरलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समय २÷२ को बराबरीमा समाप्त भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोलरक्षक रोनक चौलाागाइकोे उत्कृष्ट प्रदर्शनका कारण बागमतीले अन्तिम चारमा स्थान बनाएको हो । टाइब्रेकरमा बागमतीका तर्फबाट सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरेका थिए । भने मकवानपुरका तर्फबाट अञ्जन विष्ट र स्टेफन समिरको प्रहार मात्र गोलमा परिणत भएको थियो । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच बागमतीका गोलरक्षक चौलाागाइ घोषित भए । उनले नगद दश हजार रुपैयाँ र ट्रफि प्राप्त गरे ।
खेलको पहिलो हाफमा बागमतीका लागि अभी लामाले ४५ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए । एक गोलले पछाडी परेको हेटौंडाका लागि स्टेफन सामिरले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसपछि खेलको ८१ औं मिनेटमा बागमतीका लागि अनिल राना मगरले गोल गरेका थिए । तर, खेल सकिन्न एक मिनेट बाँकी रहँदा मकवानपुरका लागि पुनः स्टेफनले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । बागमतीले अब सेमिफाइनलमा सशस्त्र प्रहरी र थ्रीस्टारवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोली भोली त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाईएको छ ।