हेटौडा – हेटौडामा सोनाम ल्होछार महोत्सब हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समिति मकवानपुरको आयोजनामा तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को अवसरमा आगामी माघ २७ गते महोत्सब हुने भएको हो ।
शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष कालु घलानले तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन घेदुङले गर्दै आएको र संस्कृतिक ल्होछार महोत्सबले गाउँ-गाउँमा ल्होछार मनाउन प्रेरित गराउने बताउनुभयो । महोत्सबमा तामाङ संस्कृति, भेषभुषा तथा तामाङ्ग खाना परिकारको स्टलहरु रहने र तामाङ गीत सांगीतिक क्षेत्रको चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएकाे छ । महोत्सब सफल बनाउन हेटौडा उपमहानगरपालिका,संस्कृति पर्यटन सहकारी मन्त्रालय, १० वटा स्थानीय तह र यति ब्रुहरी प्रालिको सहयोग रहने आयोजकले जनाएको छ । महोत्सब सञ्चालनका लागि करीब १० लाख लागत लाग्ने अनुमान आयोजकले गरेकाे छ ।