राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान कार्य सकिएको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मत खसेको बताउनुभयो ।
उहाँले स्थानीय तह र प्रदेशसभा सदस्य गरी २ सय २५ जना मतदाताले मतदान गर्नुभएको जानकारी दिनुभयो । ३ जना (मतदाता) मतदानमा सहभागी नभएको उहाँले जानकारी दिनुभयो ।
“प्रदेशसभा सदस्य (सबै) ५२ जना र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरि १७३ जनाले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिनुभएको छ, मतदान सकिएको छ, अब केही बेरमा मतगणना शुरु गर्ने तयारी भइरहेको छ”, सहायक निर्वाचन अधिकृत भट्टले भन्नुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो । मतदानको अवधि बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजे सम्मका लागी तोकिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा अपाङ्गता, अन्य र महिला गरि तीन पदका लागि मतदान भएको हो । यहाँ नेकपा एमालेका ३, नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका १ गरि जम्मा ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५२ र स्थानीय तहका १७६ गरि २२८ जना मतदाता रहेका छन् । कुल मतभार ६१ सय रहेको छ ।