मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान प्रकृया सक्किएको सम्पन्न भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सक्किएको हो । आज भएको निर्वाचनमा १०८ जना प्रदेशसभा सदस्य र २३४ जना स्थानीय तहका प्रमुख/ उपप्रमुखले गरि कुल ३४२ जनाले मतदान गर्नुभएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो।
प्रदेशसभा तर्फ २ जना र स्थानीय तहतर्फ ३ जना प्रतिनिधिले मतदान प्रक्रियामा सहभागी नजनाउनु भएको मुख्य निर्वाचन अधिकृत सञ्जेलले जानकारी दिनुभयो । मतदान सक्किएकोले दिउसो ४ बजेबाट मतगणना शुरु हुने उहाँले बताउनुभयो । बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी ४ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका ४ जना, नेकपा एमालेको तर्फबाट ४ जना र नेपाल मजदुर किसान पार्टीबाट ४ जना र राप्रपाका ३ जना गरी १५ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
सत्तारुढ गठबन्धन नेतृत्व दल कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराउनुभएको छ । एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल,अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराउनुभएको छ । भने, राप्रपाका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता/अल्पसंख्यकबाट भरतमणि भट्ट र दलितमा पूर्णबहादुर बिश्वकर्माको उमेर नपुगेको कारण मनोनयन दर्ता खारेज भएको थियो । यस्तै नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपालीले मनोनयन दर्ता गराउनुभएको छ ।