आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । खेल पौने दुर्ई बजे सुरु हुँदैछ ।
समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्त्वपूर्ण हुनेछ । नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।
सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ ।
नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ । एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् । अर्का फिनिसर हुन् । नेपालले तीन स्पिनर खेलाएको छ । सुवास, तिलक र दीपेश तीनै स्पिनर नेपालको प्लेइङ ११ मा छन् ।
नेपालको प्लेइङ–११ मा देव खनाल (कप्तान), दीपक बोहरा, दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलक भण्डारी र आकाश चन्द रहेका छन् ।