पश्चिमी वायुु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको मंगलवार र बुधवार पश्चिमी वायु सक्रिय हुँदा केही ठाउँमा हल्का पानी परेको थियो । तर हिजोदेखि पश्चिमी वायु फेरि निस्क्रिय भएको हो ।
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य र बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज पनि तराई मधेसका धेरै ठाउँमा बाक्लो हुस्सु कुहिरो लागेकाले चिसो बढेको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री रहेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ ।