राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उहाँको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यकामा विजय हासिल गर्नुभएको थियो । उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । उहाँका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।