मकवानपुर । मकवानपुरका दुई स्थानीय तहका किसान रैथाने बाली तर्फ आकर्षित भएका छन । स्थानीय तहले रैथाने बालीमा अनुदानसंगै बजारीकरणमा समेत सघाउ पु¥याएका कारण किसान त्यस तर्फ आकर्षित भएका हुन् ।
जिल्लाको मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदो, फापर र जुनेलो खेती गर्ने किसानका लागि बिशेष कार्यक्रम नै कार्यान्वयनमा ल्यएको छ । जसका कारण उत्पातक्त्व समेत बढेको छ । स्थानीय तहले रैथाने खेती गर्ने किसानका लागि अनुदानसँगै उचित मूल्य दिलाउने व्यवस्था गरेसंगै किसान यसतर्फ आकर्षित भएको र उत्पाक्त्व बृद्धि भएको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभयो । “धान र गहुँ जसरी सिँचाइ नचाहिने यो बाली किसानले निर्वाहमुखी तवरले परम्परादेखि लगाउँदै आएका थिए । किसानले उत्पादन गरेको बाली बेच्नै पनि गा¥हो थियो, तर, पालिकाले बजारीकरणका साथै अनुदान दिएर प्रोत्साहन गरेसंगै अब भने व्यवसायिक खेती अघि बढेको छ ।” उहाँले भन्नुभयो ।
पालिकाको प्रोत्साहनले अहिले कोदो, फापर, जुनेलो लगायतका रैथाने बालीको उत्पादकत्वसमेत बढ्दै गएको उहाँले बताउनुभयो । पछिल्लो समय सहर बजारमा परम्परागत अन्नबालीको माग बढ्न थालेपछि पनि किसानहरू रैथाने बाली उत्पादन तिर लागेको चौधरीको भनाई छ । बजारमा विशेष गरी, कोदो, फापर, मकै, जौ को माग बढ्दो रहेको उहाँँले बताउनुभयो । यस्तै संघीय सरकारले कोदो खेतीको प्रवर्द्धनका लागि अनुदान दिन थालेपछि गाउँपालिकाले पनि सहज गरेको उहाँको भनाई छ । “खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणका लागि रैथाने बाली कोदाको संरक्षणका लागि यी दुवै पालिकाको पहलका कारण कृषक पनि आकर्षित भएका हुन् ।” उहाँले भन्नुभयो । पोषणयुक्त र स्वस्थकर अन्नबालीका रुपमा लिइने कोदो, फापर, जुनेलोलगायतका रैथानेबालीमा अहिले मकवानपुरका यी दुवै पालिकाले अनुदान दिने गरेको छ ।
गाउँपालिकाले कोदो र धान कोदो प्रति केजी ५४, फापरको प्रतिकेजी एक सय र जुनेलोको प्रतिकेजी ८४ रुपियाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । अघिल्लो वर्ष कोदो स्थानीय सहकारीमा बेच्ने किसानलाई प्रतिकेजी थप २ रुपैयाँ र सहकारीलाई बजारको व्यवस्थापन गर्न प्रतिकेजी २ रुपैयाँ अनुदान दिने गरेकोमा यो वर्ष किसानलाई ६ रुपैयाँ र सहकारीलाई ४ रुपैया गरि १० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । बेच्न र उचित मूल्य पाउन समस्या नभएकाले कोदो रोप्न थालेको स्थानीय कृषकहरुको भनाई छ । ‘पहिला त गाईगोरुलाई नल खुवाउन घाँसको रुपमा कोदो खेती गरिन्थ्यो, अहिले कमाइका लागि गरिन्छ ।’ स्थानीय कृषक चन्द्रबहादुर योन्जनले भन्नुभयो ।
मकवानपुरगढीमा गत वर्ष २५० हेक्टरमा कोदो खेती थियो । अहिले विस्तार भएर ३ सय हेक्टर पुगेको चौधरीले बताउनुभयो । यस्तै फापर १० हेक्टर, धान कोदो ५ हेक्टर र जुनेलो करीब ५ हेक्टरमा लगाएका छन् । उहाँका अनुसार पालिकाका करिब २ सय घरधुरीले कोदो खेती गरेका छन । गाउँपालिकाले कोदोको पिठो बजारमा समेत ल्याएको छ । भने, कोदोको खपत बढाउन विद्यालयको दिवा खाजा कार्यक्रममा सातामा एक दिन (बिहीबार) कोदोका परिकार खुवाउनुपर्ने नियम बनाइएको छ । दिवा खाजा कार्यक्रममा कोदोको सेल, हलुवालगायत विभिन्न किसिमका परिकार बनाएर खान दिने गरिएको छ ।
त्यस्तै गाउँपालिकाले गत वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने कृषकलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहनस्वरुप अनुदान दिने गरेको छ । गत आव ४१ रोपनी बाँझो जग्गा खनजोत गरिएको थियो । गाउँपालिकाले यो वर्ष करीब ५० मेट्रीक टन रैथानेबाली संकलन गर्ने लक्ष्य लिएकोमा अहिले सम्म करीब १५ टन संकलन भईसमेको उहाँले बताउनुभयो ।
यसैगरी भीमफेदी गाउँपालिकाले चालु आवदेखि कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । कोदो खेती गर्नेलाई अनुदान दिने व्यवस्था बजेटमै घोषणा गर्दा किसानमा सकारात्मक सन्देश गएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । ‘अहिलेको वर्ष झण्डै तीन हजार रोपनीमा कोदो रोपिएको छ‚’ उहाँले भन्नुभयो । गत वर्षसम्म कोदो खेती एक हजार रोपनीमा पनि थिएन । कोदो खेती प्रवर्धन गर्न चालु आवकका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोदो खेतीतर्फ कृषकहरु आकर्षित हुँदा उत्पादन बढ्ने देखिएको गाउँपालिकाको कृषि शाखाले जनाएकाे छ ।