काठमाडौँ । सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले आज सरकारको प्राथमिकता र आगामी योजनाहरूको खाका तयार पारेको हो ।
कार्यदलको आज सिंहदरबारमा बसेको बैठकले अन्तिम रूप दिएको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेता समक्ष पेश हुने र सरकारमा सहभागी दलका शीर्ष नेताहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गर्ने सहमति भएको कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले जानकारी दिनुभयो । कार्यदलले तयार पारेको गठबन्धन सरकारको साझा कार्यक्रममा सुशासनको विषयलाई प्राथमिकता दिइएको र जनतामा प्रत्यक्ष रुपमा परिवर्तनको आभास दिलाउने कार्यक्रमहरू समेटिएको नेता ढकालले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा (माओवादी केन्द्रका नेता वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शमशेर राणा, जनता समाजवादी पार्टी जसपाका नेता रकम चेम्जोङ सदस्य हुनुहुन्छ ।