मकवानपुर । नेपालमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रका बालबालिकामा अटिजमको समस्या बढी रहेको पाईएको छ । मंगलबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेटौँडामा आयोजना गरेको अटिजम सम्बन्धि छलफल कार्यक्रममा यस्तो बताइैएको हो ।
कार्यक्रममा मन्त्रालयका डा. साकार खनालद्धारा प्रस्तुत प्रतिवेदन अनुसार नेपालमा नेपालमा ग्रामीण क्षेत्र भन्दा शहरीक्षेत्रमा बढी बालबालिका अटिजमका कारण प्रभावित रहेका छन् । उहाँका अनुसार नेपालमा कुल जनसंख्यामा कम्तिमा तीन लाख जनामा अटिजम भएको अनुमान गरिएको साथै बालक भन्दा बालिकामा बढी अटिजमको समस्या देखा परेको छ । ५ देखी ७ वर्ष भन्दा कम उमेरसमूहका बालबालिका यसको प्रभावमा परेको पाइएको समेत उहाँले बताउनुभयो ।
डा. खनालद्धारा प्रस्तुत प्रतिवेदन अनुसार बागमती प्रदेशमा अटिजम देखा परेकोे संख्या एक हजार भन्दा बढी रहेको छ । भने, प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा रहेको पाइएको छ । तथ्याङ्क अनुसार बागमती प्रदेशमा एक हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको डा. खनालले बताउनुभयो । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको उहाँले बताउनुभयो ।
प्रदेशमा अझै अटिजम अवस्थाको पहिचान गर्न नसक्दा कति बालबालिकामा यस्तो समस्या हुने गरेको छ भनी तथ्याङ्क नभएको डा. खनालले बताउनुभयो । सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरुलाई अटिजम भएको अनुमान तथ्याङ्कमा गरिएको छ ।
“कुनैपनि व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष सम्वाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्याउने, अरुसँग घुलमिल नहुने, अस्वभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भन्ने गरिन्छ ।” कार्यक्रममा लामो समय चितवन रहि यसैक्षेत्रमा सक्रिय डा. रामप्रसाद पोखरेलका अनुसार नेपालमा सन् २०१२ देखीनै बालबालिकामा अटिजम देखा परे पनि २०१८ देखी भने उपचार गराउँन अटिजम प्रभावित बालबालिका आउन सुरु भएको बताउनुभयो । अटिजम फरक हुन्छ, लक्षण पनि उमेर अनुसार फरक रहने बताउँदै गुणहरु पनि फरक रहने डा. पोखरेलले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख एवम् प्रवक्ता डा.खगेश्वर गेलालले प्रदेशका १३ वटै जिल्लामा अटिजमसम्बन्धि काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने बताउनुभयो । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने तयारी गरेको उहाँले बताउनुभयो । अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्रचार्यले जुम मार्फत अटिजम सम्बन्धि जानकारी दिँदै नेपालमा अटिजमको अवस्था र सहभागिको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा मिश्र, हेटौँडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, विभिन्न विद्यालयका प्रतिनिधि, अटिजमका क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधि, अटिजम प्रभावित अभिभावकलगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।