मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले नवनिर्मित सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी क्लब अफ हेटौंडाले मंगलबार हेटौंडा–६ स्थित सामुदायिक अस्पतालमै पुगेर ७७ साल ५० हजार बराबरको स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष स्वागत राज प्याकुरेलले अस्पतालकी प्रतिनिधि समीक्षा बराल र वडाअध्यक्ष विष्णुबहादुर दाहाललाई सो रकम बराबरको ५ वटा उपकरण हस्तान्तरण गर्नु भएको हो । रोटरीले आगामी माघ महिनादेखि सञ्चालनमा आउन लागेको अस्पताललाई लाईसेन्स पूर्णप्रणाली, वायोकेमेस्ट्री एनालाइजर, प्राइम स्क्यानर, युरिन एनालाइजर र हेमोप्रोटिन टेस्टिङ सिस्टम हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष प्याकुरेलका अनुसार क्लबको यो तेस्रो विश्वव्यापी अनुदान रहेको छ । रोटरीले पहिला खानेपानी परियोजना र आँखा अस्पताललाई उपकरण हस्तान्तरण गरेको थियो । स्थानीयले कम शुल्कमा प्रभावकारी स्वास्थ्यजाँच पाउन भन्ने अपेक्षा रोटरीले राखेको प्याकुरेलले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा रोटरी इन्टरनेशनलअन्तर्गत नेपाल–भुटानको सहायक गभर्नर रामप्रसाद शर्मा, हेटौंडा–६ का वडा अध्ययक्ष विष्णु बहादुर दाहाल, रोटरी क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष सुयष पराजुली र रोटरीका पूर्व अध्ययक्ष ऋषिराम घिमिरे, लोखराज पोखरेल, सचिव किशोर पराजुली लगायतको उपस्थिति रहेको थियो । रोटरी क्लबले आगामी दिनहरुमा विद्यार्थीका लागि दन्त शिविर आयोजना गर्ने समेत जनाएको छ ।