काठमाडौँ – यस वर्षको राष्ट्रिय योग दिवस सर्वाङ्गीण विकासका लागि योग भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय योग दिवस मूल आयोजक समितिको आज सिंहदरबारमा बसेको बैठकले योग अभ्यास तथा योगको महत्त्वबारे प्रकाश पार्ने विभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले माघ १ गतेका दिन मनाइने राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रव्यापी कार्यक्रमहरूको आयोजन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकार, स्थानीयपालिका तथा शैक्षिक सङ्घ संस्थाहरूलाई सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी योगको महत्त्व झल्किने गरी योग दिवस मनाउन आग्रह पनि गरेको छ । यसैगरी मूल आयोजक समितिले राजधानीको हकमा माघ १ गतेका दिन प्रभात फेरी तथा नारायणहिटी दरबार संग्रालय परिसरमा योग अभ्यास सहितको मूल समारोह आयोजना गर्ने निर्णय समेत गरेको शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताउनुभयो ।