नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटदेखि चिवाभञ्याङको सङ्कल्प यात्रा राजनीतिक नैराश्यता चिर्दै नयाँ दिशा स्थापित गर्न सफल भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आज पार्टीको केन्द्रिय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवादमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्याङसम्म करिब २ हजार किलोमिटर लामो सङ्कल्प यात्राले राजनीतिक, सामाजिक रुपमा रहेका निराशा र अन्योल भावप्रति जनतामा स्पष्टता दिन सकेको दाबी गर्नुभयो ।
सङ्कल्प यात्रा सांस्कृतिक एकता र सामाजिक सद्भाव बढाउन सफल रहेको उल्लेख गर्नुहुँदै आर्थिक समृद्धिको क्षेत्रमा भने युवा पलायन र बसाइँसराइको समस्या आफूले देखेको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले सङ्कल्प यात्रामा बसाइँसराइ, युवा पलायन, खानेपानी अभाव, कृषि, उद्यम लगायतका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग अन्तर्क्रिया गरी आगामी दिनमा पार्टीले गर्ने काम कारबाही र नीति तथा योजनाहरू कार्यान्वयन लैजाँदै अघि बढ्ने बताउनुभयो ।
विकासका लागि विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, किसान, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूले महत्वपूर्ण सुझाव र समस्याहरू पाएको बताउनुहुँदै राज्यसत्ताको दुरुपयोग भइरहेको पनि इगिंत गर्नुभयो । मध्यपहाडी यात्राका उपलब्धीका बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले यात्राले स्थानीय तहसँगको सम्बन्धलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।