मकवानपुर– आज २८ अप्रिल अर्थात अन्तराष्ट्रिय श्रमिक स्मृति दिवस हेटौंडामा विविध कार्यक्रम गरेर मनाईएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश कमिटीको आयोजनामा आज सचेतना सामग्री अनावरण तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर दिवश मनाईएको हो ।

दिवशका अवसरमा जिफन्ट बागमती प्रदेश कमिटीले तयार पारेको कोभिड–१९ सम्बन्धी सचेतना सामग्री जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनावरण गर्नुभएको हो । सो अवसरमा प्रमुख खुलालले नयाँ भेरियन्टको कोरोना भाईरसबाट बच्न जिफन्टले तयार पारेको प्रचार प्रसार सामग्रीले श्रमिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले कोभिड महामारीबाट बच्न मजदुर क्षेत्रले अग्रणि भुमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो । उहाँले कोभिडबाट बच्न ठुलो संख्या ओगटेको मजदुर क्षेत्रमा सचेतना फैलाउने, स्वास्थ्य मापदण्ड पुरा गर्ने र गराउने कार्यमा ुमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले कार्यस्थलमा सुरक्षित भएर काम गर्न समेत आग्रह गर्नुभयो ।

जिफन्ट बागमती प्रदेश कमिटी उपाध्यक्ष अर्जुन ढुङ्गेलको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओका अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ । विश्वभर वर्षेनी २३ लाख ४० हजार श्रमिकको कामका सिलसिलामा ज्यान जाने गरेको छ । जसमध्ये व्यवसायजन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख २१ हजार रहेको छ भने बाँकी श्रमजन्य रोगका कारण ज्यान गुमाउने रहेका छन् । दिवसलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवसका रुपमा पनि मनाउने गरिन्छ । कामका क्रममा ज्यान गुमाएका, घाइते, अपाङ्ग र अस्वस्थ भएकाहरुको सम्झनामा हरेक वर्ष यो दिवस अप्रिल २८ तारिखमा विश्वभर मनाउने गरिन्छ । कार्यक्रममा श्रमिसंग सम्बन्धी विभिन्न संघ संस्थाका पतिनिधिहरुको समेत सहभागिता थियो ।