मकवानपुर । रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक्ट क्लब अफ हेटौँडाले मकवानपुर र रौतहटमा बुधबार आयोजना गरेको निशुल्क आँखा शिविरमा ४७२ जनाको आँखा परिक्षण गरिएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा ४७२ जनाको आँखा परिक्षण गरिएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–७, भिरकोट र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६, पेटभरुवामा आयोजित आँखा शिविरमा १३२ जनामा मोतिविन्दु पहिचान भएको छ । बकैया गाउँपालिका–७ मा २२१ जनाको आँखा परीक्षण गर्दा २२ जनामा मोतिविन्दु पहिचान भएको छ भने विजयपुरमा २५१ जनाको आँखा परीक्षण गर्दा १०९ जनामा मोतिविन्दुको समस्या पहिचान भएको हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।
रोटरी क्लब अफ हेटौँडाले अस्ट्रेलियाको तास्मानियास्थित रोटरी क्लबहरुको सहयोगमा हरेक वर्ष दुई पटक निशुल्क आँखा शिविर आयोजना गर्ने गरेको छ । योबर्ष बुधबारदेखि शनिबारसम्म मकवानपुरसँगै चितवन, रौतहट र बारा जिल्लाका ६ स्थानहरुमा निशूल्क आँखा शिविर सञ्चालन गरिने बताइएको छ । शिविरमा मोतिविन्दु पहिचान भएका विरामीलाई आइतबार र सोमबार हेटौँडास्थित हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिनेछ ।