मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । हेटौंडामा बिहीबार आयोजित एन्फाको बिशेष साधारणसभाले नेम्वाङबिरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि विशेष साधारणसभामा ५३ जनाले भाग लिएका थिए । जसमध्ये ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मत दिँदै नेम्वाङलाई अध्यक्षबाट हटाउन नहुने मत व्यक्त गरेका हुन् । मतदानमा एक मत बदर भएको थियो । ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग नै लिएनन् । मतदान प्रकृयामा अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले मतदान प्रक्रिया बहिष्कार गरेका हुन् ।
हेटौंडामा उद्घाटन सत्रनै नराखी विशेष साधारणसभा अगाडि बढेको थियो । साधारण सभामा विवाद हुने आशंकाले ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् । एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।