मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सोमबार हेटौंडा–३, स्थित प्रहरी चौकी बसामाडी अगाडि बस्तीपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुवाहक बसमा सवार ४३ वर्षिय अमृत घलानको साथबाट विष्फोटक पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार जानकारी दिएको छ ।
प्रहरीका अनुसार घलानको साथबाट ९० प्रिमियर ३२ एमएम एक्प्लोसिभ क्लास–२ लेखिएको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ एक थान, नियोजेल–९०१, क्याप सेन्सेटिभ इमल्सन एक्प्लोसिभ लेखिएको सुन्तला रंगको प्लाष्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ एक थान, विष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ २ थान, सुन्तला रंगको प्लास्टिकमा रहेको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ ३ थान, कालो टेपले बेरिएको सेतो तार जडान गरिएका ६ थान विद्युतिय डेटोनेटर, रातो सेतो तार जडान गरिएका २० थान डेटोनेटर, तार नजोडिएको १४ थान डेटोनेटर बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले घलानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।