हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आज संघीय निजामती सेवा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै पेन डाउन गरेका छन् । स्थानीय तहका कर्मचारीहरूले २० बुँदे माग गर्दै आन्दोलन सुरू गरेका हुन् ।
आज उपमहानगरपालिकाका कर्मचारीहरुले कार्यलयको प्राङ्गनमा पेन डाउनसहित धर्ना समेत दिएका थिए । उपमहानगरपालिका र वडा कार्यालयमा अत्यावस्यक बाहेकका सबै काम ठप्प पारिएको उपमहानगरपालिका संघर्ष समितिका अध्यक्ष लक्ष्मण मैनालीले बताउनुभयो ।
ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै उनीहरूले तत्काल संसद्बाट ऐन पारित हुनुपर्ने उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारीकाे माग छ । असोज १३ गतेको भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएरै आन्दोलनमा जाने निर्णय भएको थियो । साेहि अनुरूप आज आफ्ना मागहरु पुरा गर्नका लागि दवाव दिने क्रममा पेन डाउन गरिएको हाे ।
आफ्ना मागहरू सम्बोधन गर्दै छिटो ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलन थालिएको कर्मचारीहरूले बताएका छन् । संघीय निजामती सेवा ऐन नबन्दा सबैभन्दा पीडित स्थानीय तहका कर्मचारी भएकोले आफूहरूका माग समेटेर विधेयक पारित हुनुपर्ने उनिहरूकाे भनाइ छ । स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन् ।
स्थानीय तहका कर्मचारीहरूले ऐनको नाम नै परिवर्तन गर्नुपर्ने, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन राख्नुपर्ने माग राखेका छन । त्यस्तै संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग छ ।
उनीहरू सरुवा प्रणाली, तालिम, बढुवा, सेवा सुरक्षालगायतका विषय पनि उठान गरेका छन् । भने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, आधिकारिक ट्रेड युनियनमा भाग लिने व्यवस्था गरिनुपर्ने माग पनि गरेका छन् ।