मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालू वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चालू वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार बैठकले २ वटा कार्यविधि समेत पारित गरेको छ । बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि–२०८० र चेपाङ, वनकरिया, माझी, बोटे एकीकृतबस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) सम्बन्धी कार्यविधि–२०८० स्वीकृत गरेको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारले प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।