१९औं एसियाली खेलकुदको क्रिकेटमा भारतसँगको खेलमा नेपालले २ सय ३ रनको लक्ष्य पाएको छ । चीनको हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनायो । उसका यशस्वी जैसवाल शतक बनाएर आउट भए ।
रिङ्कु सिंह ३७ र शिभम् दुवे २५ रनमा अविजित रहे । भारतका कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । तिलक बर्मा २ रनमा र जितेश शर्मा पाँच रनमा आउट भए । नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।
नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।
मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो । कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।
नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।
त्यस्तै, समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेको हङकङले पाकिस्तानसँग खेल्दैछ । यो खेल आज बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको मलेसिया र बङ्लादेश तथा सिधै क्वाटरफाइनलमा पुगेका श्रीलङ्का र अफगानिस्तानबीच भोलि खेल हुनेछ ।