हेटाैंडा । नेकपा (एमाले) नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश प्रसाद ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष ढुङ्गेल रामेछाप र नेता दाहाल मकवानपुर निवासी हुनुहुन्छ । अध्यक्षका दुबै उम्मेदवार पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
प्रदेश कमिटीको प्रथम अधिवेशनबाट उपाध्यक्षमा चितवनका दावादोर्जे लामा विजयी हुनुभएको छ । लामाले ६१५ मत प्राप्त गर्नुभएको छ । यसैगरी, सचिवमा ललितपुरका नवराज सिलवाल ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सिलवाल एक मतको अन्तरले विजयी हुनुभएको हो । सचिवका अर्का उम्मेदवार सिन्धुपाल्चोकका हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो ।
यस्तै दुई उपसचिवमा प्रेमकुमार महर्जन ५९९ र भक्तकुमारी लामा ५३६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
२४० सदस्यीय बागमती प्रदेश कमिटीका सदस्यहरू भने सर्वसम्मत र निर्वाचन दुबै प्रक्रियाबाट निर्वाचित हुनुभएको छ । अधिवेशनले सात सदस्यीय लेखा आयोग पनि निर्वाचित गरेको छ । निर्वाचनमा विद्युतीय मेशीन प्रयोग गरिएको थियो । अधिवेशनमा एकहजार १७२ प्रतिनिधि सहभागी भएकामा निर्वाचनमा एकहजार १३५ मत खसेको थियो ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अधिवेशन यही असोज ८ गते काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहबीच उद्घाटन गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी र निर्वाचन तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्पन्न भएको छ ।