file photo

हेटौँडा, २९ पुस । हेटाैंडा बजार क्षेत्रको सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएकाे मुद्दा मंगलबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । रास्वपा नेतृ विन्दवासिनी कंशाकारसहित ६ जनाले दायर गरेको रिटमा मंगलबार तोकिएको पेशी पुनः सरेको हो ।
उक्त रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरुले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मंसिर १६ मा स्थानीय सर्वोच्च पुगेका थिए । सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मंसिर १९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा मंसिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो ।
मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो । सो पश्चता पुस २, पुस ६, पुस १२ र १८ को पेशी सर्दै आएको थियो । अदालतको आदेश नआएकै कारण सडक विस्तार गर्ने कि नगर्ने भन्ने विषयमा डिभिजन सडक कार्यालय पर्ख र हेरको अवस्थामा छ भने स्थानीय पनि अनिश्चित छन् ।