हेटौँडा । हेटौँडा उपमहानगरपालिकास्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले जितेको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल खेलमा प्रगति माविले हेटौँडा–९ स्थित रस्सल एकेडेमीलाई हराएको हो ।
शनिबार भएको फाइनल खेलमा प्रगति माविले रस्सल एकेडेमीलाई १–० गोलअन्तरले पराजित गरेको हो । उपाधि जितेसँगै प्रगति माविले ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको रस्सल एकेडेमीले ३ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
शनिबार नै भएको पहिलो सेमिफाइनलमा रस्सल एकेडेमीले हेटौँडा–४ स्थित सत्यम जेभियर्सलाई २–१ गोलअन्तरले र दोस्रो सेमिफाइनलमा प्रगति माध्यमिक विद्यालयले हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको थियो । सेमिफाईनलमा पराजित भएका सत्यम जेभियर्स र बालबोध माविले सन्त्वनास्वरुप २र२ हजार नगदसहित मेडल र प्रमाणमत्र प्राप्त गर्नेछ । सोमबार हीरक जयन्तीको समापन कार्यक्रममा पुरस्कार वितरण गरिने विद्यालयका शिक्षक राजेश अधिकारीले जानकारी दिनु भयो । विद्यालयले बुधबारदेखि सोमबारसम्म विविध कार्यक्रमको आयोजना गरी ६० औँ वार्षिकोत्सव (हीरक जयन्ती) मनाउँदै छ ।