मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले सभ्य समाज निर्माणमा लाग्न जरुरी रहेको बताउनुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबा (लेखराज दादा) को ५१ औँ स्मृति दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख प्रसाईले सभ्य समाज र सभ्य नागरिक निर्माणमा लाग्न जरूरी रहेको बताउनुभएको हो ।

प्रमुख प्रसाईले समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यमा पुग्न सभ्य समाज निर्माण गर्ने परम्पराको बिकास हुन जरुरी रहेको बताउनुभयो । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको उहाँको भनाई थियो । संसार उज्यालो छ भन्दै प्रमुख प्रसाईले सबैलाई सत्कर्म तर्फ लाग्न आग्रह समेत गर्नुभयो ।

ब्राह्म कुमारी राज योग केन्द्र हेटौंडाकी प्रमुख सुनिता बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिक्देल, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतकाको सहभागिता थियो ।