लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले उद्धार र राहत कार्यमा लिबियालाई सघाउन आह्वान गरेका छन् । आइतबार सो क्षेत्रमा पुगेका विशेष प्रतिनिधिले बाढी पीडितको उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
विशेष प्रतिनिधि अब्दुलाये बाथिलिले राजधानी त्रिपोलीमा लिबियाका प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद मेन्फीसँगको भेटमा डेर्ना सहर र अन्य क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिमा शोक व्यक्त गरे ।
पुनः निर्माणमा स्रोत साधनको सहयोग गरिदिन उनले विश्व समुदायसँग आग्रहसमेत गरेका छन् । सेप्टेम्बर १० मा भूम्ध्यसागरीय आँधी डेनियलका कारण लिबियामा दशक यताकै सबैभन्दा ठूलो बाढी आएको थियो । जसमा अहिलेसम्म ५५ सयले ज्यान गुमाइसकेका छन् भने १० हजार बेपत्ता छन् । तेलको धनी लिबिया सन् २०११ मा मुअम्मर गद्दाफीको पतनपछि पूर्व र पश्चिम प्रशासनमा विभाजित छ ।