भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे ।
कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलङ्काले दिएको ५१ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो । बलिङमा मोहम्मद सिराजले श्रीलंकन ब्याटरलाई ध्वस्त पारेका थिए भने ब्याटिङमा भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । भारतले ३७ बल फेस गर्दा जित पक्का गर्न सफल भयो ।
भारतका लागि ईशान किसन र शुभमन गिलले ओपनिङ गरेका थिए । यी दुईले नटआउट पारि खेल्दै भारतलाई च्याम्पियन बनाए । शुभमन गिल २७ रनमा नटआउट रहँदा ईशान किसन २३ रनमा नटआउट रहे ।
श्रीलङ्काले १५.२ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्रै बनाउन सक्यो । फाइनल खेलमा घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन श्रीलङ्काले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिजले १७ र डुसन हेमन्थाले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
१३ ओभरमा ८ विकेट गुमाउँदा ४० रन बनाएको श्रीलङ्काले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन । श्रीलङ्कालाई फाइनलमा पुरै दबाबमा राख्नका लागि मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यसैगरी जसप्रित बुमराहले १ विकेट लिए । हार्दिक पाण्ड्याले ३ विकेट लिए ।
एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । हरेक दुई दुई वर्षमा आयोजना हुने प्रतियोगितामा भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ । भारतले ११ औँ फाइनल खेल्दा ३ पटक मात्रै उप विजेता भएको छ । यस्तै, श्रीलङ्काले ६ पटक उपाधि जित्दा ७ पटक उप विजेता बनेको छ ।
यसैगरी पाकिस्तानले २ पटक उपाधि जित्दा ३ पटक उप विजेता भएको छ । बङ्गलादेश ३ पटक उप विजेता भएको छ भने अफगानिस्तान र यस पटक सहभागी भएको नेपालले समूह चरण पार गर्न सकेनन् । भारतले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । २०२२ को उपाधि भने श्रीलङ्काले जितेको थियो । कोभिडका कारण यसअघि रोकिएकाले २०२२ र २०२३ मा लगातार एसिया कप आयोजना भएको हो ।