हेटाैंडा । नेपालमा ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिहरूकाे कृषिमा आवद्धता हुने क्रम बढेको छ । नेपालको जनसंख्याबारेको अध्ययन अनुसार बुढेसकाल सुरु भएपछि कृषिमा लाग्नेको संख्या बढिरहेको र युवाहरुको संख्या घटिरहेको देखिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले १० वर्षको अन्तरमा गणना हुने कृषि गणानाको नतिजा सार्वजनिक गर्दा यस्तो अवस्था देखिएको हो । २०७८ को विवरण बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजा प्रतिवेदनअनुसार कुल कृषिमा आवद्ध हुने नेपालीमध्ये ५५ वर्ष उमेरदेखि ६४ उमेर समूह २०६८ सालमा १७ दशमलव ६ प्रतिशत कृषिमा थिए । तर अहिले त्यो संख्या बढेर १८ दशमलव ३ प्रतिशत पुगेको छ ।
६५ वर्ष उमेर भन्दा माथिकाहरु योभन्दा अघि ११ दशमलव ४ प्रतिशत कृषिमा आवद्ध रहेकोमा अहिले त्यो संख्या १३ प्रतिशत पुगेको हो । तर युवा उमेर समूहको संख्या भने घटिरहेको तथ्याङ्कले देखाएको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘२५ वर्ष भन्दा कम उमेर समूहको हिस्सा २०६८ सालमा ३ दशमलव १ प्रतिशत रहेकोमा २०७८ सालमा २ दशमलव ६ प्रतिशतमा पुगेको छ । २५ देखि ३४ वर्ष उमेर समूहको संख्या १६ दशमलव १ प्रतिशतबाट घटेर १४ दशमलव ९ प्रतिशतमा आइपुगेको छ । ३५ देखि ४४ वर्ष उमेर समूहको संख्या २६ दशमलव ७ प्रतिशतबाट घटेर २५ दशमलव ७ प्रतिशतमा आइपुगेको छ।’
त्यस्तै ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहको संख्या २५ दशमलव १ प्रतिशतबाट घटेर २४ दशमलव ८ प्रतिशतमा आइपुगेको प्रतिवेदनले देखाएको हो । तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ लाख ९९ हजार परिवारले खेतिपाती गर्ने गरेको पाइएको छ। १ लाख ३२ हजारले पशुपन्छि मात्रै पाल्ने गरेको पाइएको हो । कृषि गणना २०६८ अनुसार भने ३७ लाख १६ हजार खेतिपातीमा आवद्ध र १ लाख १६ हजार पशुपन्छि मात्रै पालनमा रहेका थिए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार खेतिपाती गर्ने परिवार अन्तर्गत चार आना वा चार धुर वा त्यससरह भन्दा बढी जग्गामा खेतिपाती गर्नेलाई कृषक परिवारमा गणना गरिएको छ । प्रतिवेदन अनुसार नेपालमा कुल कृषकको संख्या ४१ लाख ३१ हजार रहेको देखिएको छ। यो संख्या २०६८ भन्दा ३ लाख थप भएको हो । पशुपन्छी पालन गर्ने र खेती गर्ने गर्नेको कुल संख्या २०६८ सालमा ३८ लाख ३१ हजार रहेकोमा अहिले त्यो संख्या ४१ लाख ३१ हजार परिवार पुगेको हो ।
कृषि गणना २०७८ अनुसार कृषक परिवारले उपयोग गरेको २२ लाख १८ हजार हेक्टर जग्गा मध्ये कृषि कार्यमा २१ लाख २२ हजार हेक्टर अर्थात् ९६ प्रतिशत उपयोग भइरहेको छ । ८१ हजार हेक्टर वन बनेलो रहेको छ। १३ हजार हेक्टर पोखरी र ३ हजार हेक्टर अन्य प्रकारको जग्गा रहेको पाइएको कृषि गणानाको प्रतिवेदनले देखाएको छ ।
कृषि कार्यमा प्रयोग भएको अधिकांश जग्गा अर्थात् १७ लाख ३१ हजार हेक्टरमा बाली लगाइएको छ । १ लाख ४५ हजार हेक्टरमा फलफूल लगाइएको छ । कृषि गणना अनुसार २८ लाख ८९ हजार कृषक परिवारले १२ लाख ९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा लिएको छ। अर्थात् कृषि परिवारले चलन गरेको जग्गा मध्ये ५५ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको छ । १० वर्षअघि अर्थात् २०६८ मा ५२ प्रतिशतमा मात्रै सिंचाई सुविधा थियो ।
खेतीपाती र पशुपन्छी पालन दुवै गर्ने र पशुपालन मात्रै गर्ने यी दुईको तथ्याङ्क जोड्ने हो भने ३४ लाख ५ हजार परिवार छन् । त्यसमा गाईगोरु पाल्नेको संख्या १७ लाख ८ हजार रहेको छ। कुल गाईगोरुको संख्या ४५ लाख ८१ हजार रहेको छ । १० वर्षअघि गाईगोरुको संख्या ६४ हजार ३० लाख रहेको छ ।
राँगाभैंसीको संख्या अहिले नेपालमा २९ लाख २३ हजार छ । बाख्रा च्याङ्ग्राको संख्या भने १ करोड ४२ लाख ४२ हजार पुगेको छ । भेडाको संख्या ४ लाख ७८ हजार पुगेको छ। सुंगुर बंगुरको संख्या १३ लाख ५८ हजार पुगेको नतिजा प्रतिवेदनमा उल्लेख छ ।