सप्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन । सिंहलाई सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो ।
२०६४ सालमा भएको एउटा हत्याको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचीमा थिए । सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालिन बोदे बर्साइन गाविस–४ बाट २०६४ साल असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याइ पाँचवटा गोली हानी उनको हत्या गरिएको थियो ।
यस विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन समेत नगइ यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ । फरार रहेकै अवस्थामा उनी २०७९ साल मंसिर ४ गते भएको प्रदेश सभा चुनावमा आफैँ मनोनयन दर्ता देखि लिएर प्रचारप्रसारमा सहभागी भएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरेन ।मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ साल असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी जाहेरी दिनु भएको थियो ।