प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।
प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्नुपर्ने छ ।
प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको छ ।